दुल्लु नगरपालिका दैलेख : चुनावी प्रतिवद्धतामा कहाँ ?


वि.सं. २०७४ साल वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा कर्णाली प्रदेशका १० वटै जिल्लाका ७९ वटै स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भए । निर्वाचन सम्पन्न भएको तीन बर्ष वित्यो । यस बिचमा निर्बाचित जनप्रतिनिधिले आफ्नो घोषणा पत्र अनुसार कति काम पुरा गरे, कति पुरा गरेनन् र किन हुन सकेनन् भन्ने बिषयमा हामिले खोजीनीति गरेका छौँ र एउटा स्तम्भ शुरु गरेका छौँ ‘चुनाव अघि चुनाव पछी’ ।

यस स्तम्भको तेश्रो श्रृङ्खलामा हामी दैलेखको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीका चुनाव भन्दा अगाडी गरेका प्रतिवद्धताहरुको फलोअप गर्ने प्रयास गरेका छौँ । यसका साथै उहाँका प्रतिवद्धता निर्वाचन पछिका नीति तथा कार्यक्रम र बजेटमा कत्तिको समेटिए भन्ने कुरा पनि यहाँ उल्लेख गरेका छौँ भने प्रतिवद्धताको विषयमा मेयर भण्डारीसँंग कुरा पनि गरेका छौँ ।

चुनावभन्दा अगाडी दुल्लु नगरपालिकाका मेयरको घोषणापत्रका मुख्य प्रतिवद्धताहरु

१. पर्यटन प्रवर्धन तथा बिकास समितिको गठन गरिने छ ।

२. दुल्लु नगरपालीका लाई दुल्लू सांकृतिक तथा धार्मीक नगरपालीका घोषणा गरिने छ ।

३. दुल्लु क्षेत्रको पर्यटकिय विकासका लागि वृहद् पञ्चकोशी विकास योजना तयार गर्ने ।

४. दुल्लू नगरपालीका वडा नं ५ र १३ लेखाआवतमा पर्यटन पूर्वाधारका लागि हवाई मैदान निर्माण गर्न पूर्वाधार अध्ययन गरि निर्माण कार्य अघि बढाउने ।

५. दुल्लू अस्पताललाई जनघनत्व र चापका आधारमा ५५ सैयाको बनाइनेछ ।

६. दुल्लु नगरपालिकामा औद्योगिक क्षेत्र स्थापनाका लागि औद्योगिक क्षेत्र प्रवर्धन बोर्डको स्थापना गरिनेछ ।

७. द्रोणाचल क्याम्पस दुल्लु लाई मप विश्व विद्यालयमा आंगिक क्याम्पसका रुपमा समायोजन गर्न पहल गरिने साथै स्नातकोत्तर तह सञ्चालन गरिनेछ ।

८. दुल्लु नगरपालिका वडा नं ८ वा ९ मा राजमार्ग सामुदायिक अस्पताल संचालन गरिनेछ ।

९. दुल्लू नगरपालिका का वडा नं. ११,१२ र १३ का नागरिकहरुको आधारभूत स्वास्थ्य सेवाका लागी विनायकमा मालिका सामुदायिक अस्पतालको संचालन गरिनेछ ।

१०. दुल्लू नगरपालिका वडा नं. ६ छिउडिमा सुन्तलाबाली अनुसन्धान केन्द्रको स्थापना गरिनेछ ।

११. तल्लो डुँगेश्वर- दुल्लु -कुसापानी सडकलाई स्तरउन्नोति गरि कालोपत्रे गरिनेछ ।

१२. दुल्लू नगरपालिका वडा नं. १३ को बिनायकमा प्रादेशिक रंगशालाको निर्माण गरिनेछ ।

१३. नगरपालिका क्षेत्र भित्रका सम्पुर्ण वडामा बालबालिकाहरुको  विकासको लागि वालउद्यानको निर्माण गरिनेछ ।

१४. नगरक्षेत्र भित्ररहेका पानीका स्रोतका संरक्षणका लागी एकिकृत खानेपानी तथा सरसफाई गुरुयोजना निर्माण गरि कार्यान्वयन गरिनेछ ।

१५. प्रत्येक वडाहरुमा वडा प्रहरी कार्यालयको स्थापना गरि शान्ति सुरक्षा बहाल गरिनेछ ।

१६. नगरपालिका क्षेत्र भित्रका १५०० युवाहरु रोजगारीको सृजना गर्न युवा कृषि तथा पशुपालन सहकारीको विकास गर्दै स्व–रोजगारीको अवसर सृजना गरिनेछ ।

१७. जेहेन्दार तथा दलित बिद्यार्थीहरुका लागी रु एक करोडको नारायण प्रसाद शर्मा स्मृति अक्षयकोष को स्थापना गरि हरेक बर्ष पाँच जना छात्र तथा पाँच जना छात्राहरुलाई प्राबिधिक शिक्षा प्रदान गरिनेछ ।

१८. शहिद पूर्ण भण्डारी कृषि कोषको स्थापना गरि प्रत्येक वडाका ५ जना कृषकलाई ब्यवसायिक कृषिको अवधारणाको विकासका लागी आवश्यक आधुनिक कृषि औजार, प्रबिधि तथा उन्नत जातको बिउबिजन बितरण तथा तालिम प्रदान गरिनेछ ।

१९. उज्यालो दुल्लू कार्यक्रम संचालन गरी सम्पूर्ण वडाहरुमा बिधुतिकरण गरिनेछ ।

२०. दुल्लू नगरपालिकाको उपयूक्त स्थानको छनौट गरि चिडियाखानाको निर्माण गरिनेछ ।

२१. डुङ्गेश्वर खोला बैक मालीकाडाँडा लिफ्टीङ्ग खानेपानी योजना संचालन गरी दुल्लू नगरपालिकाको वडा नं. ५,६,७,८,१०,११,१२ र १३ को खानेपानी योजना समस्या समाधान गरिनेछ ।

२२. दुल्लू नगरपालिकाका सवै वडाहरु वा नगरपालिकाको केन्द्रसम्म आउन जान सहजताका लागी नगर वस संचालन गरिनेछ ।


नीति तथा कार्यक्रम र बजेटमा समेटिएका चुनावी घोषणापत्र

दुल्लु नगरपालिकालाई धार्मिक तथा सांस्कृतिक नगरको रुपमा घोषणा गर्ने चुनावी प्रतिवद्धतालाई आर्थिक वर्ष २०७५/७६को नीति तथा कार्यक्रममा सांस्कृतिक सम्पदाको प्राचुर्यताका दृष्ट्रिकोणले ज्वाला सभ्यता, कर्णाली सभ्यता र मूर्त/अमूर्त सम्पदाहरु रहेको दुल्लू नगरपालिकालाई साँस्कृतिक नगर घोषणा गराउन आवश्यक पहल गर्ने भनि राखिएको छ । घोषणापत्रमा राखिएका अधिकांश कुरालाई नीति तथा कार्यक्रममा समेट्ने कोशिस गरिएको छ र ती कार्यान्वयन भने भएका छैनन् । घोषणापत्रमा प्राथमिकतामा राखिएको खानेपानी समस्या समाधानलाई नीति तथा कार्यक्रम र बजेटमा पनि प्राथमिकताको साथ राखिएको छ। नगर यातायातको विषयलाई प्राथमिकतामा राखिएको छ तर यसलाई सडक सन्जालको विस्तारसँग जोडिएको छ । नगरपालिकामा विधुतिकरणको विषयलाई नीति तथा कार्यक्रममा एकदमै प्राथमिकताको साथ राखिएको छ।

नीति तथा कार्यत्रम र बजेटमा नसमेटिएका चुनावी घोषणापत्र

मेयर घनश्याम भण्डारीको घोषणापत्रमा पर्यटन क्षेत्रलाई अत्यन्त प्राथमिकताका साथ राखिएको छ । स्थानीय तहको चुनाव भइसकेपछि हालसम्मका नगरपालिकाका नीति तथा कार्यक्रम र बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको छ तर घोषणापत्रमा उल्लेख गरिएको पर्यटन प्रर्वद्धन तथा विकास समितिको गठनको विषय कहिँकतै उल्लेख गरिएको छैन ।प्रत्येक वडामा वडा प्रहरी कार्यालय राख्ने विषय चार वटा नीति तथा कार्यक्रममा कहिँ पनि प्राथमिकता पाएको छैन । त्यस्तै प्रादेशिक रंगशालाको विषयलाई पनि प्राथमिकता दिइएको छैन । नगर बस सन्चालनको विषय नीति तथा कार्यक्रममा समेटिएको छैन ।

 

‘नागरिकहरुले चुनावअगाडिका प्रतिवद्धताहरुमा प्रश्न गर्नुपर्ने ठाउँ राखेका छैनौं’ : घनश्याम भण्डारी

१) पर्यटन प्रवर्धन समिति गठन गर्न अहिले संघिय सरकारले रोकेको रहेछ । त्यसकारण हामिले पर्यटन सुचना केन्द्र र सांस्कृतिक संग्राहलय संचालन गर्नेगरी दुल्लु सांस्कृतिक संग्राहालय संचालन ऐन ल्याएर त्यसमा नै एउटा समिति गठन गरेर सोही समितिद्धारा पर्यटन सम्बन्धी काम तथा व्यवस्थापन भइरहेको छ ।

२) धार्मिक तथा सांस्कृतिक नगरपालिका घोषणा गर्ने हामिले भन्दा पनि संघिय सरकारले हो । घोषणा गर्न नसकेपनि हामिले धार्मिक तथा सांस्कृतिक गतिविधि अगाडी बढाइरहेका छौं । पञ्चकोशी क्षेत्रको पुर्वाधार विकासको काम अगाडि बढेको छ ।

३) पञ्चकोशी क्षेत्रको गुरुयोजनाहरु तयार भएर परियोजनाहरु संघ तथा प्रदेश तहमा पठाएका छौं । साथै गत आर्थिक वर्षमा राष्ट्रिय योजना आयोगले हामिलाई एक करोड रकम दिएर कार्य प्रारम्भ भएको छ ।

४) हवाइमैदानको लागि प्रारम्भिक अध्ययन नगरपालिकाको तर्फबाट त गर्याैँ तर संघिय सरकारलाई धेरैपटक पत्र लेखेर पठाएका हौं । पर्यटन मन्त्रालयको स्मार्ट सिटीअन्तर्गतको एउटा परियोजनामा उल्लेख भएको छ तर कार्य अगाडि बढ्न सकिरहेको छैन ।

५) दुल्लु अस्पताललाई नगरपालिकाले व्यवस्थित गर्ने भन्ने कुरा हो तर व्यवस्थित गर्न अलि सकिरहेको स्थीति छैन । मुलत नगरपालिकाले बजेट पुर्याउन सकिरहेको छैन् । अहिले हामिले प्रदेशसभा सदस्य शुसिल थापाको समन्वयमा ५० बेडको आइसोलेसन भवन निर्माण अन्तिम चरणमा पुर्याएका छौं । यसलाई संचालनका लागि संघिय सरकार मातहत गर्न सरकारलाई बारम्बार घचघच्याइरहेका छौं । संघिय सरकार मातहत भयो भने यो अस्पताल सन्चालन गर्न सहज हुने अपेक्षा छ ।

६) औधोगिक क्षेत्र स्थापनाका लागि हामिले सम्भाव्यता अध्ययन गरेर पठाएका छौं । संघिय सरकार मातहतको औधागिक विकास निगममा प्रस्ताव पनि गरेका छौं । साना तथा मझौला उद्योगहरुलाई स्तरोन्नती गर्नुपर्छ भन्ने हिसाबले काम अगाडि बढेको छ । हामिले हरेक वर्ष ५० देखि १०० जनासम्म उद्यमी पनि उत्पादन गर्ने काम पनि गरिरहेका छौं ।

७) द्रोणाञ्चल क्याम्पसमा स्नातकोत्तर तह संचालन भएको २ वर्ष पुग्न थालिसक्यो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सिनेटले यो वर्ष आंगिक क्याम्पसको रुपमा लिने भन्ने निर्णयसम्म भएको छ तर कोभिडको कारण सवै कुरा अस्तव्यस्त हुँदा यो काम त्यहाँभन्दा अगाडी बढ्न सकेको छैन् ।

८) राजमार्ग सामुदायिक अस्पतालको लागि सहिद पुर्ण स्मृती सामुदायिक अस्पताल भनेर कम्पनी दर्ता भएर ४० रोपनी जग्गा लिने काम भइसकेको छ । बजेट अभावको कारण भवन निर्माण र संचालनको स्थितिमा आइसकेको अवस्था छैन ।

९) विनायकमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरेका छौं । त्यसलाइ मानसिक रोगको औषधी वितरणको केन्द्रको रुपमा पनि विकास गरिएको छ । थप काम आगामी वर्षमा अगाडि बढ्नेछ ।

१०) सुन्तलावाली अनुसन्धान केन्द्र स्थापनाका लागि हामिले निर्णय त गर्याैँ तर हामी आफैंले निर्णय गर्न मिलेन । तसर्थ सुन्तला जोनको रुपमा दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाको केहि क्षेत्र समेटेर विकास गरिरहेको छौँ जुन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत रहेको छ ।

११) अगाडीबाट नै हामीले तल्लो डुंगेश्वर दुल्लु डाडिमाडि सडकको कालोपत्रे गर्न प्रयास गरेका थियौँ । यसवर्ष आठ किलोमिटर कालोपत्रे हुँदैछ । बाँकि स्तरोन्नतीको काम भइरहेको छ ।

१२) विनायकमा प्रादेशिक रंगशाला निर्माणको लागि डिपिआर तयार भयो तर काम अगाडि बढाउन सकिएको छैन । प्रादेशिक रंगशाला निर्माणको निकै धेरै नै बजेट आवश्यक पर्दछ जुन हामीसँग उपलब्ध भएन् ।

१३) हामीले चुनाव भन्दा अगाडी नगरपालिकाका सबै वडाहरुमा वालउद्यान निर्माण गर्ने संकल्प गरेका थियौँ तर सवै स्थानमा यो काम गर्न सकेका छैनौँ । हालसम्म ४ स्थानमा स्थापना गरेका छौं ।

१४) दुल्लु नगरपालिकाले जलस्रोत गुरुयोजना निर्माण गरिसकेको छ । जसको कार्यान्वयन अन्तर्गत गएको दुई वर्षमा ९४० धारा वितरण भएको छ । यसवर्ष पनि ५०० धारा दिने तयारीमा छौं । गएको वर्ष हामिले पानीका मुहानहरु सुधारको काम सम्पन्न गरेका छौं । अबको दुइ वर्षभित्र हामिले सबै घरधुरीलाइ खानेपानी दिनेगरी काम अगाडि बढिरहेको छ।

१५) प्रत्येक वडामा वडा प्रहरी कार्यालय स्थापना त अलि सम्भावना थिएन । इलाका प्रहरी कार्यालय दुल्लुसंगै विनायकमा अस्थायी प्रहरी चौकि छ । शान्तिबजार, ठोरी र जगत्रामा प्रहरी पोष्ट स्थापना गरेका छौं । शान्तीसुरक्षाको प्रत्याभुति गर्न हाम्रो अधिकतम पहल छ ।

१६) अहिलेपनि विदेशबाट आउनुभएका र यहिँ रहेका युवाहरुको लागि दुल्लु नगरपालिकाको हरेक क्षेत्रमा कृषि तथा पशुपालन सहकारीमार्फत काम गरिरहनुभएको छ । हामिले उत्पादनमा जोड दिनुपर्छ भन्दै लघुउद्यममार्फत युवाहरुलाइ रोजगारी र उनिहरुलाई विभिन्न बैंक र वित्तिय संस्थामार्फत सहुलियत दरमा ऋणसमेत उपलब्ध गराएका छौं ।

१७) हामिले नारायणप्रसाद स्मृती छात्रवृती भनेर कोष स्थापना गरिसकेका छैनौं तर पञ्चकोशी बहुप्राविधिक शिक्षालय र विजया माविको प्राविधिक धारको कार्यक्रममार्फत विजया माविमा हरेक वर्ष ४८ जना विद्यार्थिलाइ र पञ्चकोशी बहुप्राविधिक शिक्षालयमा ५ जना विद्यार्थिलाइ छात्रवृतीको व्यवस्था गरिएको छ ।

१८) कृषिकै लागि भनेर प्राकृतिक स्रोत व्यवस्थापन कलेज मार्फत यसै वर्षदेखि बिएस्सी एजीको कार्यक्रम प्रारम्भ गर्ने भनेका छौँ । हामीले सहिद पुर्ण भण्डारी कृषि स्मृति कोष स्थापना गर्न नसकेपनि कृषि तथा पशु कार्यालयमार्फत तालिम भएको छ । विभिन्न साझेदारहरुसंगको सहकार्यमा विउविजनको वितरण भएको छ । कोष नै भने स्थापना गर्न सकिएको छैन् ।

१९) उज्यालो दुल्लु कार्यक्रम अन्तर्गत करिब करिब माध्यामिक विद्यालयहरुमा विधुतिकरण गरिसकिएको छ । पञ्चकोशी उज्यालो कार्यक्रम अन्तर्गत हामिले गतवर्ष पञ्चकोशी क्षेत्रका धार्मिक स्थलहरुमा विधुतिकरण गरेका छौ । यहाँका करिब ६० प्रतिशत नागरिकको घरमा विद्युत पुगेको छ । १३ वटै वडाका केन्द्र र सबै सरकारी कार्यालयहरुमा विधुत पुगेको छ । चुवानभन्दा अगाडि नगरपालिकामा ११ प्रतिशत विधुतिकरण भएको थियो भने अहिले ६५ प्रतिशत विधुतिकरण भएको छ ।

२०) दुल्लु नगरपालिकामा चिडियाखानाको गुरुयोजना निर्माणको काम सम्पन्न भइसकेको छ । जसको वजेटका लागि हामिले प्रदेश र संघ सरकारसंग वजेट माग गर्ने गरेका छौं । २५ लाख कमाउने नगरपालिकाले चिडियाखानाको डिपिआरबाहेक केही काम गर्नसक्ने अवस्था छैन ।

२१) गतसाल पनि संघिय सरकार अन्तर्गतको ७ करोड रकम फ्रिज भएको थियो । यो वर्षपनि ३ करोड रुपैंया उक्त लिफ्ट खानेपानीको लागि छ । डीपीआर सकिएपछि काम अगाडि बढ्नुपर्ने हो । यो वर्ष माघमा टेण्डर हुन्छ होला ।

२२) नगर बस संचालन गर्न सकेको अवस्था छैन । एक टोल एक अटोरिक्सा भनजस्तै अहिले हामिसंग ९८ वटा सानो सवारी साधन भइरहेको हुनाले नगरबसको काम तीने अटोरिक्साले गरिरहेका छन् । बरु तिनैलाइ कसरी व्यवस्थित गर्ने भन्ने उदेश्यले अटोरिक्सा व्यवस्थापनसम्बन्धी कार्यविधि निर्माण गरेका छौं ।

अन्त्यमा ,
दुल्लु नगरपालिकामामा सस्तो शुल्कमा प्राविधिक शिक्षा अध्यापन भइरहेको छ ।सबै वडा कार्यालयमा इन्टरनेट सेवा उपलब्ध गराएका छौं । नगरपालिकाको प्रशासनिक भवनको काम र १३ मध्ये १२ वटा वडाका भवन निर्माण गरिसकेका छौं । हामिकहाँ ८० प्रतिशत जग्गा गुठीको हुँदा मालपोत रावश्व कम उठ्छ । हामिले चुनावअगाडि बाचा गरेका कुराहरु पुरा गरेका छौं । नागरिकहरुले चुनावअगाडिका प्रतिवद्धताहरुमा प्रश्न गर्नुपर्ने ठाउँ राखेका छैनौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!