मन्त्रीहरुले भन्ने गर्नुहुन्छ, ‘तपाई सल्यान मात्रै कति दौडनुहुन्छ ?’ : प्रकाश ज्वाला


स्वागत छ मन्त्री ज्यु ।

धन्यवाद ।

तपाईले कर्णाली प्रदेशसभा सदस्यको रुपमा २०७४ माघ ०७ गते सफत खानुभएको थियोे । त्यस्तै गरी कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीको रुपमा २०७४ फागुन ०६ गते सफत लिनुभयो । नढाँटिकन भन्दा या विचमा तपाईको कार्यकाल तपाईकै नजरमा कस्तो रह्यो ?

हामिले निर्वाचन जितिसकेपछि जनताको नाममा सपथ लियौँ र संयोगले सपथ दिएको करिव एक महिनामा कर्णाली प्रदेश सरकारको एउटा सदस्यको रुपमा आर्थीक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पनि मेरो काँधमा आयो । हामिले निर्वाचित भइसकेपछि नयाँ परिवेश संघियताको कार्वान्वयन स्वरुप हामि प्रदेश सभामा आएका थियौँ । प्रदेशसभाको आफ्नै संरचना व्यवस्थित भइसकेको थिएन । प्रदेश सरकार त झनै असाध्यै प्रारम्भिक अवस्थाबाट काम थालनि गर्नुपर्ने अवस्थामा थियो ।

संघियता हाम्रो लागि नयाँ प्रयोग थियो, त्यसभन्दा अगाडि मेरो र हामी धेरैको अनुभव संघिय स्तरमा थियो । त्यसकारणले केहि समय हामिले अनुभव वा पुर्वतयारी जस्तो केहि संरचनागत, पुर्वाधार तथा कानुनि तयारीमै हाम्रो समय बित्यो । त्यस अवधिमा पनि म मेरो निर्वाचन क्षेत्रमा जनताको विचमा पटकपटक पुगेँ । निर्वाचनको बेला प्रतिवद्धता गरिएका कुरा हुन् या मैले सल्यान जिल्ला र मेरो निर्वाचन क्षेत्रमा देखेका आवश्यकता हुन, ती सवालहरु पुरा गर्न मैले अत्यन्तै पहल गरेको छु । कँहि न केहि परिणामहरु देखिँदै गएका छन भन्ने मैले विश्वास गरेको छु ।

प्रकाश ज्वाला

सल्यान ‘ख’ बाट निर्वाचित भइसकेपछि तपाईले भन्नुभएको थियो, पाँच वर्षको अन्तरालमा सल्यानमा परिवर्तनको अनुभुती दिलाउने छु, त्यो पाँच वर्षमध्ये पन्ध्र प्रतिशत अर्थात नौ महिना पुरा भइसक्यो । सल्यानको यो नौ महिनामा तपाईले गरेका पाँचवटा कामहरु भन्दिनुस न ?

यो नौ महिनामध्ये करिब आधाजस्तो समय त हामिलाई यो प्रदेशको कामकाज सुरु गर्ने कुरामा पनि बित्यो । त्यसपछिका दिनहरुमा हामिले केहि कामको सुरुवात गरेका छौँ । संघिय सरकारवाट प्राप्त गर्नुपर्ने केहि कामहरु र प्रदेश सरकारबाट गर्नुपर्ने कामहरुका सम्वन्धमा पनि हामि गम्भिरतापुर्वक लागिरहेका छौँ । यो बिचमा धेरै क्षेत्रमा केहि कामहरुको सुरुवात चलाएको छ । मैले पाँच वर्षमा सल्यान जिल्लाका जनतालाई फरक अनुभुति दिलाउने अठोट गरेको थिएँ, र त्यो अठोट अहिले पनि कायमै छ । प्रारम्भमा हामिले केहि कामहरुको सुरुवात गरेका थियाँै , त्यसमा पनि बिहानीले दिउँसोको संकेत गर्छ भनेजस्तै उत्साह छ । ती बिहानका किरणहरु सल्यान जिल्लाका निम्ति उदाएका छन । पाँच वर्षमा मैले सल्यान जिल्लाको लागि केहि गर्न सक्छु भन्ने विश्वास गरेको छु । तपाईले भनेजस्तै केहि उदाहरणकै रुपमा पाँचवटै भन्नुभएको छ, सवैभन्दा चासो र ध्यान भनेको सडक र पुर्वाधार तिरै छ ।

हामिले यो बिचमा सडक र पुर्वाधारका निम्ति धेरै राम्रा कामहरु गरेका छौँ । जस्तो सल्यानको राप्ति राजमार्गलाई पुननिर्माण गर्नेगरी कार्यपत्र प्रारम्भ भएको छ । त्यो कार्यक्रम ४९ करोडको छ, त्यसले कमसेकम राजमार्गमा सहज रुपमा जनताहरु आवतजावत गर्न सक्छन् । त्यस्तै सल्यानबाट प्रदेश राजधानी जोड्ने सडकलाई स्तरोन्नती गर्ने र त्यसअन्तर्गत सल्यानबाट सुर्खेत आउने खलङगा कुपिन्डे हुँदै सुर्खेत जोड्ने १८ किलोमिटर कालोपत्रे हुदैछ ।

बाँकि काम पनि अगाडि बढिरहेको छ र प्रदेश सरकारको तर्फवाट पनि चार करोड बिनियोजन गरेका छौँ । संघिय सरकारबाट साढे सात करोड विनियोजन भएको छ । यसैसाल हामिले त्यो सडकलाई पुर्णता दिएर सल्यान सुर्खेत सहज रुपमा जोड्नेछौँ । अर्काे बैकल्पिक सुर्खेत संगै जोड्ने त्रिवेणी गाउँपालिकाको लुहाम देखि काभ्रा हुदैँ कालिमाटिबाट सुर्खेत जोड्ने सडकका लागि यसपटक हामिले केन्द्रबाट पनि करिब ४ करोड र प्रदेशबाट पनि करिब ४ करोड रुपैयाँ हामिले विनियोजन गरेका छौँ । त्यो सडक जोडियो भने सुर्खेतसँग हाम्रो कनेक्सन असाध्यै सहज हुन्छ ।

यो कनेक्टिभिटिमा हाम्रो धेरै समस्याहरु थिए र छन् पनि । अर्काे सल्यान, कालिमाटि हुदैँ कोहलपुर जोड्ने छोटो रुटबाट नाका जोडिने सडकका निम्ति पनि यसपटक हामिले चार करोड विनियोजन गरेका छौँ । डिपिआर तयार पारेर त्यो बाटोलाई प्रदेश महत्वको बाटोको रुपमा अगाडि बढाउँछौ । यस्तै सडकमै, सल्लीबजारबाट चौरजहारी जाने वा थारमारेबाट चौहरजहरी जोड्ने कुरा होस या ढोडचौर भेगबाट सल्लीबजार जाड्ने कुरा होला, यी केहि महत्वका योजनालाई हामिले अगाडि सारेका छौँ । दोस्रो जनताले अत्याधिक धेरै माग गरको कुरा भनेको विद्युतिकरणको कुरा नै हो । हाम्रो प्रदेशको आवश्यकता पनि कनेक्टिभिटी र जलविधुत नै हो । जलविधुतमा केन्द्रबाट अहिलेसम्मकै बढि १५ करोड रकम प्राप्त गरेका छौँ । प्रदेशबाट हामिले चार करोड रुपैयां छुट्याएका छौँ ।

मन्त्रीज्यु , यहि विजुलिकै सम्बन्धमा तपाईकै निर्वाचन क्षेत्रको बासिन्दा भिमबाबु ऐरीको प्रश्न पनि छ , “शारदा नगरपालिका ९ मा अझैँ पनि विजुली छैन । हामिले उज्यालो कहिले देख्ने ? ”

उज्यालो सल्यानको कार्यक्रम अगाडि बडिरहेको छ । त्यो १५ करोड, चार करोड प्रदेशको, स्थानिय तहहरुले पनि छुट्याएको रकम करिब ७ करोड जति छ, यो लगभग २६ करोड जति पैसाले यसपटक सल्यान जिल्लाका अधिकांस ठाउँहरुमा हामिले बिजुलि बाल्न सक्छौँ । जसभित्र शारदा नगरपालिकाको वडा नम्बर ९ पनि पर्छ ।

बाल्न सक्छौँ, कि बाल्छौँ ?

बाल्छौँ, निश्चित रुपले पनि बाल्छौँ । अब कहिँ काम गर्दागर्दै नसक्दा पनि अर्काे सालमा पुग्नुपर्ला । हामिले बढिमा तीन वर्षमा सल्यानका सबै जनताको घरमा बिजुली पुर्याउने उद्धेश्य राखेका छौँ, त्यो पुरा गर्छाैँ ।

भनेपछि तपाई अर्काेपटक भोट माग्न जाँदा विद्युतको कुरा सल्यानमा एजेन्डा हुदैँन ?

अँ ! बिजुलीको माग हुने स्थिती बन्दैन र त्यो कुरा निश्चित हो ।

तपाईको चुनावको एजेन्डा पनि हुदैँन ?

स्वभाविक रुपले पुरा गरेका कुराहरु फेरी एजेन्डा बनाउन परेन । अब तेस्रो कुरा भनेको सल्यान जिल्लामा पहिलेदेखीनै आबश्यक ठानिएको कुरा भनेको प्राविधिक जनशक्ति उत्पादनको थियो । मैले ३–४ वर्ष मेहनत गरेँ । सल्यान जिल्लामा अहिले सिटिइभिटि अन्तर्गत सहिद नेत्रलाल अभागि स्मृति प्राविधिक विद्यालय स्थापना भएको छ । सव इन्जिनिएर र कृषि प्राविधिकको अनुमति पनि प्राप्त गरेका छौँ । यसै वर्ष सव इन्जिनिएरको पढाई सुरु हुन्छ, त्यो सल्यान जिल्लाको लागि धेरै महत्वपुर्ण हो भन्ने मलाई लाग्छ । त्यस्तै हामिले जिल्लाको निम्ति सोचेका अरु धेरै विषयहरु पनि छन् ।

तपाइले प्रदेशसभामा पेश गर्नुृभएको वजेटमा सत्तापक्षकै प्रदेससभा सदस्यहरुबाट आलोचना भयो नि है ? किन यस्तो भयो ?

यसमा केहि भएको छैन । तात्विक रुपमा मेरो र माननियज्युहरुको कुरामा भिन्नता छ जस्तो मलाई लाग्दैन । जुन वजेट वक्तब्य प्रदेशसभामा प्रस्तुत भयो, चाहे ७४/७५ को होस या ७५/७६ को होस, त्यो वजेटमा प्रस्तुत गरिएका मुल नीति, कार्यक्रमहरुको सम्वन्धमा फेरिपनि त्यति ठुलो विमति, असहमति वा विरोध हामिले सुनेनौँ । तुलनात्मक रुपमा यो वजेट प्रशंसनिय छ भन्ने सुन्नमा आएको छ । कतिपय वजेट शिर्षक अन्तर्गत योजना छुट्याउने र त्यसमा वजेट बाँडफाँड गर्ने कुरामा माननियज्युहरुको कतिपय ठुला योजनामा प्राथमिकता दियौँ ।

वजेटचाहिँ वितरणमुखी नगरौँ भन्ने सुझाव हो । अर्काे कुरा चाहिँ संसदप्रति उत्तरदायी हुनुपर्छ, यो पनि उहाँहरुको सुझाव हो । उहाँहरुको सुझावलाई हामिले ध्यानमा राखेर सकेसम्म वजेटलाई केन्द्रीकृत गर्ने, वजेटलाई परिणाममुखी बनाउने कुरामा प्रयत्न गरिरहेका छौँ । काम गर्ने क्रममा कहिँकहिँ तलमाथि हुदाँपनि संसद र माननियज्युहरुको सुझावलाई ध्यानमा राखेर सुधार पनि गर्दै गईरहेका छौँ ।

ओमप्रकाश भण्डारीले सोध्नुभएको छ, प्रदेश सरकारको तर्फवाट विकासनिर्माणका ससाना योजना सञ्चालनको लागि ससानो परिमाणमा समेत वजेट छुट्याइएको छ, प्रदेश सरकारले साना योजनाका लागि त स्थानिय तहलाई नै अनुदान दिनुपर्ने हैन र ? आफैले साना साना योजनामा हात हाल्नु त संघियताको मर्म बिपरित भएन र ?

योजनाहरुका विभिन्न प्रकृति हुन्छन् । कतिपय योजना साना खालका पनि हुन्छन् । कतिपय मन्त्रालयका वजेटहरु साना पनि छन् । जस्तै कृषि मन्त्रालयका कतिपय योजनाहरु साना पनि छन् । पर्यटन वन मन्त्रालयका कतिपय योजनाहरु साना पनि छन । अब भौतिक पुर्वाधार मन्त्रालयको कुरा होला , या सामाजिक विकास मन्त्रालयका कतिपय स्वास्थ्य शिक्षाका कुरा होला, ती ठुला वजेट पनि छन् । जस्तो सल्यान जिल्लाको अस्पताललाई ५० सैयाको बनाउने भनेर हामिले काम अगाडि बढाएका छौँ । त्यो ठूलै योजना मानिन्छ होला ।

सल्यानको खलङगामा करिब १७ करोडको खानेपानी योजना सम्पन्न भएर खानेपानि चालु भएको छ । त्यस्ता योजनाहरु पनि ठुलै होलान । प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोडको कुरा छ, त्यसलाई पनि केन्द्रिकृत गरौँ भनेर यसैपटक पनि मैले बोटेचौर देखि लेखपोखरा हुदँै रोल्पा जोड्ने सडकमा २ करोड एउटै सडकमा राखको छु । त्यस्तैगरी सोलामान रिङ वाला सडक छ, त्यो सडकमा १ करोड राखेको छु । ग्वार्पा र निगालचुलाको सडकलाई पनि हामिले बजेट छुट्याएका छौँ । मैले भन्न खोजेको सकेसम्म योजनाका प्रकृति हेरेर जस्तो सल्यान जिल्लाका कतिपय ठाउँहरुमा लिफ्ट प्रणालीबाट खानेपानीको काम गर्नुपर्छ । चाहे बबईको चाहे शारदा बेसिनको कुरा होला । त्यहाँ हामिले अलि ठुला आकारको वजेटहरु राखेका छौँ ।

कतिपय ठाउँमा सिँचाइका ठुला योजनाहरु पनि छन् । धेरैजसो योजनाहरु ओमप्रकाशजीले भनेजस्तै अन्तरपालिका र अन्तरजिल्ला जोड्ने नै छन् । कतिपय योजनाहरुको प्रकृति अलि सानै योजनामा पनि जानुपर्ने हुन्छ । अदुवा प्रशोधन केन्द्रको कुरा गर्दा दुई करोड रकम छुट्याएका छौँ । एउटा सिङगै पालिकालाई अर्गानिक पालिका बनाउने कुरा गरेका छौँ । त्यस्तै चिस्यान केन्द्रको कुरा गरेका छौँ । तर कतिपय बाध्यात्मक परिस्थितिमा साना परियोजनामा जानुपर्ने भएर त्यस्ता देखिएका हुन । नत्र उहाँको जुन ध्यानाकर्षण छ, त्यो हामिलाई पनि अनुभुति छ । भोलिका दिनहरुमा प्रोजेक्ट बैंक बनाएपछि योजनाहरुको वर्गिकरण केन्द्रबाटै आएपछि प्रदेशले प्रदेश महत्वका अलि ठुला अन्तरपालिका र अन्तरजिल्ला जोड्ने योजनालाई हामि ध्यान दिनेछौँ ।

नेपाल राष्ट्र बैंकले गत जेठमा निकालेको एक प्रतिवेदनअनुसार, आ.ब ०६८/६९ देखी ७२/७३ सम्म पाँच वर्षको आँकडा हेर्दा पाँच वर्षमा कर्णाली प्रदेशले ३.५ अर्ब राजस्व संकलन गरेछ भने यो पाँच वर्षमा १०९ अर्ब सरकारी खर्च भएछ, अर्थात आम्दानी भन्दा ३१.२ प्रतिशत बढि खर्च भएछ । मन्त्री र सांसदलाई त्यति धेरै तलव दिनेगरि विधेयक पारित भएको छ । अन्य सेवासुविधा पनि धेरै नै छ । यो कस्तो प्रकारको अर्थशास्त्र हो मन्त्रीज्यु ,यसले कर्णाली प्रदेशलाई कहाँ पुर्याउँछ ? हामि त धेरै कमजोर अवस्थामा छौँ ?

हाम्रो राजश्व अत्यन्त कम उठ्छ । हामिले भन्दै आएका छौँ, राजश्व संकलनका क्षेत्रहरु हाम्रा साना र साँघुरा छन । हामि नाकाबन्दि जस्तो अवस्थामा पनि छौँ । दक्षिणमा नाका जोडिएको छैन, उत्तरको नाका खुलेकै छैन । अर्काे कुरा रजिष्टे«सनबाट प्राप्त हुने कर पनि एकदमै कम छ । अर्थात राजश्व धेरै संकलन गर्न सकेको अवस्था छैन । त्यसैले राष्ट्रिय ढुकुटिमा पनि कर्णालीको योगदान अत्यन्त न्युन छ । खर्च त जहाँ पनि गर्न पर्छ नै । नियमित खर्च , चालु तथा प्रशासनिक खर्च त जहाँपनि हुन्छ नै । तर अबको प्रशासनिक र चालु खर्च घटाउने तथा राजश्वका क्षेत्रहरु विस्तार गर्ने योजना छ ।

अनि यति धेरै तलब सुविधाले प्रशासनिक खर्च कसरी कम हुन्छ ?

जहाँसम्म तलब को कुरा छ , खर्च भनेको सांसद र मन्त्रीले प्राप्त गर्ने मात्र त होइन । विभिन्न क्षेत्रमा हुने खर्च नियमित खर्च हो । राज्य सञ्चालनमा हुने खर्च हो । अहिले जुन विधेयक पास भयो, त्यहि विधेयक कै कुरा गर्ने हो भने यसका २ वटा पक्षमा ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ । एउटा कुरा त हामिले जुन संघले तोकेर सवै प्रदेशमा पठायो , सेवासुविधा कति हुने भनेर हामिले त्यसभन्दा कम गरौँ भनेर निकै धेरै प्रयत्न पनि गर्याैँ । तर अन्तिममा सबैको के सुझाव आयो भने , अरु प्रदेशका भन्दा बढी खर्च गर्नपर्ने स्थितिमा कर्णालीका जनप्रतिनिधी छन् । एकजना हुम्लाको सांसद प्रदेशसभामा भाग लिन सुर्खेत आउनु पर्छ ।

एकजना डोल्पाको स्थानिय जनप्रतिनिधी प्रदेशको कार्यक्रममा भाग लिन सुर्खेत आउनु पर्छ । हजारौँ रुपया खर्च हुन्छ । अनि जहाँ बढि खर्च हुन्छ, त्यहाँ कम सुविधा लिने, जहाँ कम खर्च हुन्छ त्यहाँ बढि सुविधा लिने, त्यो अलि असन्तुलित हुन्छ कि भनेर धेरैको जोड पनि आयो । यसमा न्यायोचित पनि हुन जरुरी हुदोँ रहेछ । त्यसकारण केन्द्रले दिएको प्रस्ताव भन्दा कतिपय प्रदेशले बढाएका छन् । सवै प्रदेशहरुको तुलनात्मक अध्ययन गरेर हामिले संगसगै सवै ठाउँका विधेयकहरु राखेर सबैभन्दा कमवाला प्रस्तावलाई स्विकार गरेर कम सुविधा लिनेगरि टुङगो लगाएका छौँ । त्यसैले त्यो सबै जोड्दा एकमुष्ट त धेरै देखिहाल्छ नै । त्यसो त हामि यहाँ ४० जना मात्रै छौँ । २०० जना हुने ठाउँमा कति होला, त्यो त तुलना पनि गर्नुपर्याे ।

अरु प्रदेशको आम्दानी पनि त बढि होला ?

हाम्रो आम्दानिले खुवाउने हैन नि यो तलब त । यो त सिङगो राष्ट्रको ढुकुटिबाट राजश्व संकलनको वितरणबाट प्राप्त हुन्छ । जस्तो अहिले ५ अर्ब ६३ करोड त राजस्वको हिस्सा पाउँछौँ । खास वजेटबाट खर्च गर्ने हैन । त्यसैले यसपटक हामिले सांसद तथा मन्त्रीपरिषद सदस्यहरुको सेवासुविधा सम्बन्धि ऐन पारित गरेका छौँ । त्यो अरु प्रदेशको भन्दा कम छ, यो म प्रष्ट पार्न चाहान्छु ।

आर्थिक वर्ष ०७५/०७६ कम कर्णाली प्रदेशसभामा तपाईले पेश गर्नुभएको वजेटको बुँदा १८ मा लेख्नुभएको छ, ‘वजेटको मुलभुत उद्धेश्य प्रदेशको विकास र समृद्धीको यात्रा सुनिश्चित गरि समाजवादको बाटो तय गर्नु हो ।’ आजभोली समाचारहरुमा पनि बढि नै आएको छ, प्रदेशसभामा पनि सदस्यहरुले प्रश्न उठाउनुभएको छ । सातजना मन्त्रीको गाउँमा वजेट बाँडेर समृद्धी सुनिश्चित हुने कस्तो प्रकारको गणित हो मन्त्रीज्यु ?

वजेट राखेर वा थुपारेर विकास हुदैँन । वजेट वितरण नै गर्ने कुरा हो । जस्तो हामिले असारमा बिउ छर्छाै, त्यो उम्रिन्छ, मल्टिपल भएर उत्पादन हुन्छ । अब वजेट छर्ने भनेको वितरणमुखि बनाउने हैन कि त्यो रोप्ने नै हो, खर्च गर्ने हो । बाटोमा, खानेपानी , सिचाईँ कतिपय मानवमुखी सुरक्षाका कार्यक्रममा खर्च गर्न पर्छ ।

तर धेरैको प्रश्न जम्मेै मन्त्रीकेन्द्रीत वजेट भयो भन्ने छ नि ?

त्यो अर्काे पाटो होला । त्यसबारे पनि छलफल गरौँला । तर वजेट भनेको योजना छुट्याउने र पठाउने हो । अबको हाम्रो जिम्मा के हो त भन्दाखेरी, त्यो वजेट बिनियोजन मात्रै हैन खर्च गर्न पर्याे । हाम्रो , मेरो वजेट वक्तब्य र सरकारको उद्धेश्य के हो भने चालु खर्च घटाउने । जस्तो सवारी साधाहरु सकेसम्म कम किन्ने, स्टेसनरीहरु कमबाट काम चलाउने, भत्ता आदि हामिले नलिने निर्णय गरेका छौँ । त्यस्तैगरी भत्ता कटाउने, घटाउने, टिएडिए घटाउने जस्ता तमाम किसिमले चालु खर्च घटाउने र प्रशासनिक खर्च नियन्त्रण गर्ने । विकास वजेट सकेसम्म अनियमितता नियन्त्रण गर्ने तर वजेट चै धेरै खर्च गर्ने । वजेट जति धेरै खर्च गर्नुहुन्छ, त्यति राम्रो हुन्छ ।

हाम्रो यो देशकै समस्या यहि प्रदेशबाट हिजो जुन स्थानिय तहहरुमा आउथ्यो वा संघिय सरकारका योजनाहरु थिए, ती योजनाहरु वजेट खर्च नभएर फ्रिज हुने जुन रोग छ , यो हामि अन्त्य गर्न चाहान्छौँ । त्यसैले विकासका लागि वजेट धेरै खर्च गर्ने हाम्रो उद्धेश्य हो । अब कतिपय योजना छनौटका सन्दर्भमा हाम्रो निश्चित मापदन्ड वा आधार तयार गर्न पनि सकिएन । पहिलो वर्ष पनि भयो । योजना आयोग पनि नबनेको अवस्था थियो । त्यसैले जसले जहाँ देख्यो त्यहाँ योजना पारेको जस्तो देखिएको हो । मन्त्रीका ठाँउमा अलि धेरै योजना परे कि भन्ने गुनासो पनि आएको छ । त्यसलाई समाधान गर्नका लागि पनि हाम्रो प्रयत्न छ । हामिसंग साझेदारीका शिर्षकमा वजेट छ । आफ्नो गाउँ आँफै बनाउँ अन्तर्गत ६० करोड छ । भौतिक पुर्वाधार मन्त्रालयमा एकमुष्ट वजेट छ । अरु मन्त्रालयमा पनि वजेट छ र त्यसले जहाँ अलि वजेटमा कमि भएको छ त्यहाँ प्राथमिकता दिन्छौँ । सन्तुलित र खर्च हुने हिसावमा वजेट छुट्याउने गरि लागिरहेका छौँ ।

तपाईलाई सामाजिक सञ्जालमा तपाईकै निर्वाचन क्षेत्रका कहि व्यक्तिहरुले प्रश्न गर्नुभएको छ, शारदा नपा १ बाट महेन्द्र मल्लले फेसबुकमा सोध्नुभएको छ , २०७० सालमा तपाईले बोलेको कुरा पनि बिर्सिनुभएछ, २०७० को चुनावका बेला युवाहरुलाई पार्टि प्रवेश गराउँदै खेलकुद मैदान बनाइदिने भन्नुभयो, त्योबेला तपाईको डायरीमा लेखिएका ती बुदाँ मेटिए कि अझैँ बाँकि छन् ?

कतिपय ठाउँमा खेलकुद मैदान यो बिचमा पनि बनेका छन । शारदा नगरपालिका वडा नं १ मा पनि मैदान बनिरहेकै छ । त्यसैगरि बिभिन्न ठाउँमा कालिमाटिको कुरा गरौँ । खेलमैदानहरु बनेका पनि छन् । यसपटक पनि प्रदेश सरकारको तर्फबाट केहि ठाँउमा बनाउने योजना पनि छ । युवाहरुलाई खेलकुदतिर आकर्षित गर्ने उद्धेश्यले कवर्डहल खलङगामा बनाउनका लागि संघिय मन्त्रालयबाट त्यसको डिपिआर बनिसकेको छ ।

सामाजिक विकास मन्त्रालयबाट हामि त्यसलाई प्राथामिकता दिने भनेर लागि परेका छौँ । त्यसैले युवालाई खेलकुद तिरको कुरा होे या स्वरोजगारीको कार्यक्रम पनि तय गरेका छौँ । युवाहरु हाम्रो प्राथामिकतामा छन् । मेरो डायरीमा लेखिएका कुराहरु पुरा गर्न केहि समय लाग्छ होला, प्रयत्न गर्नुपर्छ होला तर मेटिएर जाँदैन ।

सल्यानको सारदा नगरपालिकाका स्थानियले दारमा र कुमाक गाँउमा मन्त्री ज्यु कहिले आउने ?

शारदा नगरपालिकाको बहिनिले दारमा र कुमाकको चिन्ता गर्नुभएको छ । एकदम स्वभाविक छ, मेरो जन्म स्थान भएको जिल्ला पनि हो सल्यान जिल्ला । त्यहाँका जनताले मलाई पटक पटक जनप्रतितिधीको हैसियतमा पुर्याएका छन । म अहिले जहाँ छु, म एक्लै पुगेको हैन । त्यसकारण मैले आफ्नो जन्मभुमीलाई बिर्सने गरेको छैन । मलाई अहिले प्रदेशमा मुख्यमन्त्री, मन्त्रीहरुले कहिलेकाँहि भन्ने गर्नुहुन्छ, तपाई सल्यान मात्रै कति दौडनुहुन्छ ? म कुनैदिन बिहान सल्यान जान्छु ,करिब ५ वटा कार्यक्रममा जान्छु र साँझ प्रदेशसरकारको काम भेट्टाउन आईपुग्छु ।

तर मन्त्रीज्यु तपाईले यो भनिरहँदा सल्यानकै अर्काे एकजनाले तपाईलाई प्रश्न गर्नुभएको छ तपाइ मन्त्री भइसकेपछि आफ्नो ठाँउमा पहिले जसरी किन आउनुहुन्न ?

हैन त्यस्तो । अहिले सबै ठाउँमा एकैपटक पुग्न त सकिदैन । सायद देशभरिकै सबैभन्दा धेरै आफ्नो निर्वाचन क्षेत्रमा जाने म नै होला । म संघिय सांसद हुनेबेला काठमाण्डौबाट रात्री बस चढेर आँउथे, कार्यक्रम सक्थेँ र फिर्ता हुन्थेँ । प्रश्नको रुपमा त आउन सक्छ । सबै ठाउँमा नपुगेको पनि हुन सक्छु । यो पछिल्लो अवधिमा मन्त्री भएको कारणले पनि अलि व्यस्त छु । जहाँ पुग्न सकिएको छैन, म त्यहाँ कार्यक्रम योजना बनाएर सबै ठाउँमा पुग्नेछु ।

जहाँसम्म एउटाप्रसंग ल्याउनुभएको थियो दारमा कुमाक , वनघाट , कुपिन्डे जस्ता ठाउँ पछाडि परेका छन् । त्यहाँ रेडियो सुनिदैन , टेलिफोनको समस्या छ, त्यसकारण यसपटक हामिले जिल्लामा सञ्चार मन्त्रालयसंग अलि प्रयत्न नै गरेर १० वटा टेलिफोन टावर बन्ने क्रममा छन । यसपटक ७ वटा टेलिफोन टावरको योजना परेको छ । ती टावरहरु निर्माण भएपछि आधारभुत रुपमा सल्यान जिल्लाका सबै ठाउँमा सन्चार सुविधा पुग्ने छ । रेडियोको पहुँच पनि बिस्तारै गाउँमा पुगिरहेको छ ।

त्यसैले ती ठाउँहरुलाई यसपटक हामिले सडक, स्वास्थ्य, पुल, आदिमा प्राथमिकतामा राखेका छौँ । अर्काे कुरा जुन, महिला हिंसाको कुरा उठेको छ, सल्यानमा त्यस्ता निच खालका घटना बेहारेका त छैनौँ । देशमा यस्ता घटनाले एककिसिमको आतंक मच्चाएका छन् । ती सामाजिक विकृतिमा बिरुद्ध पनि हामि संवेदनशिल छौँ । तीनका बिरुद्ध सबै लाग्नुपर्छ । अर्काेतिर सल्यानमा वालविवाह प्रकोप जस्तै छ । हामिले वालविवाह अन्त्यका निम्ति अभियानहरु पनि चलाईरहेका छौँ । यी बिकृती अन्त्य गर्नु पनि हामि सबैको जिम्मेवारी हो भन्ने मलाई लाग्छ ।

फेसबुकमा दिपक थापाको प्रश्न छ, सल्लीबजार, नेटा, चौहरजाहरी सडकखण्ड कहिले कालोपत्रे हुन्छ, के ले राकिएको छ , यो सडकको हालत कस्तो छ तपाईलाई अहिले थाहा छ ?

यो प्रादेशिक संरचनाको हिसावले मेरो निर्वाचन क्षेत्रमा पर्ला । त्यसमा केहि फरक परेन तर सल्यानका सबै स्थानको जानकारी छ । यो सडक कालापत्रे भइरहेको पनि छ । यो केन्द्रीय योजनामा परेको छ । तर यतिबेला के भो भने संघिय सरकारले योजना प्रदेश लाई हस्तान्तरण गर्याे तर वजेट हस्तान्तरण गरेन । अघिल्लोपटक काम भइरहेको वजेट पनि प्राप्त हुने नहुने अन्यौलता छ ।

त्यो अलि अन्याय भएको छ तर हाम्रो हिसावले यो अत्यन्तै महत्वको योजनाको रुपमा छ । केन्द्रीय वजेट हुदाँहुदँै पनि यसलाई प्राथामिकता दिनको लागि हामिले रुकुमको मुसिकोटबाट सुर्खेत जोड्ने सडकको वर्गिकरणमा राखेका छौँ । त्यसोहुदाँ सल्लीबजार चौहरजहरी सडकको लागि यसपटक हामिले ६ करोड विनियोजन गरेका छौँ र त्यसको तुरुन्तै टेन्डर आव्हान गरेर काम अगाडि बढ्छ । काम छिटै सकिने अवस्था आयो भने वजेट थप्न पनि सकिन्छ । त्यसैले त्यो कालोपत्रे भइरहेको छ ।

मन्त्रीज्यु यति धेरै कुरा गरिरहँदा, यति धेरै वजेट परिरहँदा , जताततै वजेट छुट्याउनु ठुलो कुरा हैन, खर्च गरेर देखाउन पर्याे भनेर भन्नुहुन्छ नि नागरिकहरुले । तपाईहरुले खर्च गर्नका लागि स्पष्ट मापदण्डहरु के छ ?

तपाईले भनेजस्तै एउटा कुरा के छ भने, तुलनात्मक रुपमा यो प्रदेशमा वजेट अलि धेरै आएजस्तो छ । तर वास्तवमा वजेट थोरै आएको हो । हाम्रो शुद्ध विकास वजेट ९ अर्ब हो, ससर्त अनुदान साढे ६ अर्ब जति हो भने राजस्वको अनुदान साढे ५ अर्ब जति हो ।

यसपटक यो वजेट राम्रैजस्तो देखिएको छ नि, हिजो हामि अत्यन्त धेरै ठगिएको कारणले हो । हिजो केन्द्रको योजनामात्र हुन्थे । केन्द्रले प्रत्यक्ष वजेट छुट्याउदा कर्णाली क्षेत्रमा न्युन रुपमा वजेट विनियोजन हुन्थ्यो । राष्ट्रिय गौरवका योजना छैनन् अहिले हाम्रो प्रदेशमा । भएपनि दाङ, बाँके, बर्दिया तिर अलि छुटिन्थे होला


अहिले निश्चित मापदण्डको आधारमा प्रदेशमा वजेट आउने हुनाले पहिलेको भन्दा अलि अगाडि छौँ । अर्काे कुरा वजेट आउनु , योजना छनौट हुनु , मात्रै बहादुरी होइन । योजना पनि गतिलो छान्नुपर्याे र वजेट पनि प्राथमिक योजनामा छुट्याउन पर्याे । छुट्टिएको वजेट अनियमितता हुन नदिएर खर्च गर्ने । अनियमितता धेरै हुनेगरी खर्च गरेर पनि काम छैन ।

कतिपय डिपिआर भइसकेका योजनालाई टेन्डरर गर्नुपर्ने छ भने तयारी नभएका योजनाको तयारी गरेर सर्भे, लागत स्टमेट गर्ने, डिजाइन गर्ने र डिपिआर गर्ने काम हामिले गर्नुपर्ने छ र सम्झौता गरेर कार्वान्यनमा जानुछ । यी कामहरु हाम्रो जनशक्तिले भ्याएसम्म गर्छाैँ , अन्यथा हामिले सेवा करारमा लिने सोचेका छौँ । कतिपय कामको लागि कन्सलटेन्सी पनि माग गर्छाैँ । जसबाट सेवा करारमा लिएर हाम्रा संरचनाको तिब्र गतिमा विकासको काम अगाडि बढाउँछौँ ।

योजना कार्यान्वयन अगाडी बढाउने र विकास खर्च धेरै गर्ने गरी हामि लागि परेका छौँ । वजेट असारमा खर्च गर्ने हिजोको परिपाटि छ, मैले त घोषणा पनि गरेको छु । जेष्ठ मसान्त पछि सबै काम बन्द हुन्छ । बरु काम छिटो सुरु गर्ने , जेष्ठ मसान्तसम्म काम गर्ने तर असारको झरीमा काम गर्ने, गुणस्तर पनि नहुने, त्यो कुरालाइ हामि रोक्छौँ । यसका लागि कार्यतालिका बनाइरहेका छौँ , त्यो हामि छिटै सार्वजनिक गर्छाैँ ।

अन्तिममा केहि छ भन्नुपर्ने ?

मलाई स्टुडियोमा हाम्रो प्रश्न कार्यक्रममा बोलाउनुभएको छ । तन्नेरी चासो सुर्खेतलाई मद धन्यवाद दिन चाहान्छु । सल्यानको प्रदेशसभा सांसदको नाताले तपाईले बोलाउनुभएको छ । तर हाम्रा प्रश्नहरु सिङगो कर्णली प्रदेश सरकारको सेरोफेरोमा केन्द्रीत भएका छन् । अलिकति मेरो निर्वाचन क्षेत्रका जनताले कम कुरा आए कि भन्ने गुनासो गर्नुहोला । त्यसैले म जुन निर्वाचन क्षेत्रबाट भारी मतले निर्वाचित भएँ , मैले सकेसम्म म अर्थमन्त्री भएकोले प्रदेशका सबै जिल्लामा हेर्नुपर्छ । किनकि मन्त्रीको क्षेत्रमा धेरै वजेट गयो भन्ने आलोचना आउँछ ।

तर त्यहाँका आभारभुत आवश्यकता विषयगत मन्त्रालयबाट नै हेरेर प्र्राथामिकताका साथ योजनाहरु परेका छन । भौतिक पुर्वाधारका क्षेत्रमा सडकहरुलाई प्राथामिकता दिएका छौँ । विद्युतिकरण , सिचाँई र खानेपानी पनि हाम्रा प्राथमिकतामा परेका छन् । हामि यसपटक धेरै समस्या हल गर्ने दिशामा जाँदै छौँ । सडक र झोलुङगे पुलहरु पनि यसपटक योजनामा पारेका छौँ । कतिपय योजना निर्माणमा लैजान्छौ भने कतिपय योजना सम्भाब्यतामा छन् । पर्यटन क्षेत्रको विकास मेरो निर्वाचन क्षेत्रको अर्काे संभाव्य चिज हो ।

यसपटक सरकारका १०० वटा नयाँ पर्यटकिय गन्तब्य छन् ,ती मध्ये कुपिन्डे दह पनि परेको छ । त्यहाँको सडक पिच गर्नासाथ त्यहाँको होमस्टेको लागि १ करोड छुट्याएका छौँ । धेरै भन्दा धेरै पर्यटकहरु त्यहाँ आकर्षित गर्छाैँ । त्यस्तै खैरावानको कुरा छ , छत्रेस्वरीको कुरा छ, कालिमाटि, कुमाकको कुरा छ । यस्ता क्षेत्रलाई छिटोभन्दा छिटो विकास गर्छाैँ । कृषिको कुरा छ कर्णालीमा सवैभन्दा राम्रो सम्भावना सल्यानमा छ । अहिले पनि कृषिमा आत्मनिर्भर जिल्ला सल्यान जिल्ला हो ।

खाद्यान्न, तरकारी, फलफुल आदिमा हामिले धेरै विकास गर्न सक्छौँ। त्यसका निम्ति पर्याप्त वजेट पनि हामिले छुट्याएका छौँ । वन क्षेत्रका पनि धेरै योजनाहरु छन् । यसपटक सुरुवात मात्र हो । प्रदेशको तर्फबाट , मन्त्रीको र सांसदको हैसियतले केहि महत्वपुर्ण कामहरु सुरु गरेका छौँ र ति कामलाई पुरा गरेर पाँच वर्षमा मेरो निर्वाचन क्षेत्रको अनुहार फेर्ने गरी पुग्ने प्रतिवद्धता ब्यक्त गर्न चाहान्छु ।

सवैलाई धेरै धेरै शुभकामना ।

 

( प्नकाश ज्वालासँगकाे याे अन्तर्वाता तन्नेरी चासाे सुर्खेतकाे रेडियाे कार्यक्रम हाम्राे प्रश्नकाे लागि लिइएकाे हाे ।  अन्तर्वार्ता  भिडियाेमा हेर्नका लागि तल क्लिक गर्नुहाेस )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!