युवाको प्रश्न ‘हाम्रा लागि बजेट खोइ ?’


जेठ २२ मा कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुसार  स्थानीय तथा प्रदेश सरकारले बेवास्ता गरेको भन्दै युवाहरूले बजेट माग गरेका छन् । युवाका लागि लगानी बढाउन उनीहरूले स्थानीय र प्रदेश सरकारसँग आग्रह गरे ।

वीरेन्द्रनगरमा ‘कस्तो नीति ? कस्तो बजेट ?’ विषयक अन्तर्क्रियाका सहभागीले युवाको क्षेत्रमा विनियोजन गरिएको बजेटसमेत रकमान्तर गरिएकोप्रति आक्रोश व्यक्त गरे । तन्नेरी चासो सुर्खेतले आयोजना गरेको कार्यक्रममा बजेट युवामैत्री बनाउन आग्रह गरिएको छ । समाजसेवी गेहेन्द्र दाहालले युवालाई रोजगारी र अन्य कार्यमा जोड्न बजेट जरुरी रहेको जनाए ।

‘चालु आवमा युवाका लागि विनियोजित रकमको सदुपयोग भयो या भएन ?’ उनले भने, ‘त्यसमा सबैको चासो जान जरुरी छ, युवालाई रोजगारीका लागि खाडी मुलुकमै जानुपर्ने बाध्यता अझै कायमै छ ।’ उनले रोजगारीमा युवालाई जोड्न सबै तहका सरकारले बेवास्ता गरिरहेको जनाए । उनले प्रदेशका मन्त्रालयले एकै महिनामै अर्बौं बजेट सक्ने गरे पनि युवाका लागि गम्भीर नभएको आरोप लगाए ।

उधारो रकम मागेर प्रशस्त बजेट विनियोजन गर्ने मन्त्रालयहरूले युवा लक्षित कार्यक्रममा रकम छुट्याउन कञ्जुस्याईं गरिरहेको अर्का युवा उपेन्द्र मल्लले बताए । ‘अहिलेका युवा देशमै केही गर्न खोज्छन्, तर सरकारी लगानी शून्य हुँदा खाडी मुलुकमा पसिना बगाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘तीनै तहका सरकारले युवालाई भजाइ खाने भाँडो बनाए तर आवश्यक कार्यक्रम तर्जुमा गर्न सकेनन् ।’ कर्णालीमा उद्योगधन्दाको विकास गरी युवालाई विदेश जानबाट रोक्न सकिने उनी बताउँछन् ।

अर्का युवा ललित भट्टराईले युवाको क्षेत्रमा लगानी नहुँदा कर्णालीको विकास हुन नसकेको दाबी गरे । ‘अहिलेका युवासँग प्रसस्तै भिजन छन्,’ उनले भने, ‘तर सरकारी लगानी नहुँदा सदुपयोग हुन सकेको छैन ।’

प्रदेश राजधानी सुर्खेतमै युवाको अवस्था दयनीय रहेको स्थानीय तिलक पौडेलले बताए । युवाको आवश्यकता पहिचान गरी लगानी बढाउन जरुरी रहेको उनको भनाइ छ । ‘सधै सुत्केरीका नाममा हेलिकप्टर बोकेर सुत्केरी लिन जाने मन्त्रीले सोही ठाउँमा डाक्टर पुर्‍याउन किन सक्दैनन् ?’ उनले भने, ‘अधिकांश ठाउँमा दक्ष जनशक्ति भए पनि बेरोजगार बस्न बाध्यहुनुपरेको छ ।’
उद्योग वाणिज्य संघका कोषाध्यक्ष भद्रभण्डारीले मन्त्रालयहरूले व्यवसायीकोसमन्वयबिनै बजेट विनियोजन गर्दा सदुपयोग हुन नसकेको बताए । ‘कुनै पनि मन्त्रालयले युवा लक्षित शीर्षकमा बजेट छुट्याएका छैनन्,’ उनले भने, ‘विविध शीर्षकमा गोलमाल गरी रकम विनियोजन गरिएको छ, यसले कसरी युवाको विकास हुन्छ ?’ कर्णालीको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रकमान्तर रकमसहित ९ करोड रुपैयाँ विनियोजन गरिएको जनाएको छ ।

अन्य विविध शीर्षकबाट युवा लाभान्वित हुनेगरी कार्यक्रम तर्जुमा गरेको मन्त्रालयका सचिवधीरेन्द्र प्रधानले बताए । प्रदेशसभा सदस्य धर्मराज रेग्मीले कर्णाली प्रदेश सरकारमा नेतृत्व कमजोर भएकाले जनताले सोचे अनुरुपको काम हुन नसकेको बताए ।
कर्णाली प्रदेशसभाका प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले दुईतिहाइ बहुमत भए पनि विनियोजित बजेट खर्च गर्न प्रदेश सरकार असफल भएको जनाए । सरकारले आवश्यक्ताको पहिचान नगरेरै बजेट विनियोजन गरेकाले रकम खर्च हुन नसकेको उनको भनाइ छ ।
‘सत्तामा भएका मन्त्रीले उधारो सपना ठूला देखे,’ उनले भने, ‘तर लक्ष्य पूरा गर्न नसक्ने सपनाको कामै देखिएन, कर्णालीका युवालाई परिचालन गर्नेगरी बजेट ल्याए कार्यान्वयन सफल हुने देखिन्छ ।’

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले अबको नीति तथा बजेटमा युवालाई उच्च प्राथमिकतामा राखिने बताए । ‘हामी आफैले गरेको काममा आफैंले सन्तोष मान्ने अवस्था छैन,’ उनले भने, ‘कर्मचारी अभावले खर्चर् गर्न नसक्दा रकमान्तर गर्नुपर्ने बाध्यता भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!